कलैया, १८ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर ३ को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्जिनियर अरविन्द साहले मतदाताहरूलाई विशेष अपिल गरेका छन्।
रङ्गहरूको पर्व होलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै साहले यस पटकको निर्वाचनलाई बाराको विकास र समृद्धिको प्रस्थान विन्दु बनाउन आग्रह गरे। उहाँले होलीलाई असत्यमाथि सत्यको विजय र सामाजिक सद्भावको प्रतीकका रूपमा अथ्र्याउँदै चुनावी मैदानमा पनि इमानदार र सक्षम नेतृत्वको विजय हुनुपर्नेमा जोड दिएका छन्।
भिडियो सन्देशमार्फत उम्मेदवार साहले मतदाताहरूलाई मतदानको महत्व बुझाउँदै भने, “यो चुनाव केवल एक मत खसाल्ने प्रक्रिया मात्र होइन, यो हाम्रो आगामी पुस्ताको भविष्य निर्माण गर्ने सुनौलो अवसर हो।” उनले मतदाताहरूलाई गम्भीरतापूर्वक सोचविचार गरेर मात्र नेतृत्व चयन गर्न अनुरोध गर्दै आफ्नो र समाजको हितका लागि सचेत रहन आग्रह गरेका छन्।
साहले फागुन २१ गते हुने मतदानमा निर्धक्क भएर ‘घण्टी’ चुनाव चिह्नमा मतदान गरी आफूलाई सेवा गर्ने मौका दिन अपिल गरेका छन्।
इन्जिनियर साहले बारा-३ का प्रत्येक नागरिकलाई आफ्नो समुदायमा सही नेतृत्वका बारेमा छलफल गर्न र मार्गनिर्देशन गर्न समेत अनुरोध गरेका छन्।
विकासका नयाँ योजना र प्राविधिक दृष्टिकोणसहित चुनावी मैदानमा उत्रिनुभएका साहले यस पटकको परिवर्तनले जिल्लाको मुहार फेर्ने विश्वास व्यक्त गरे।
उनले सम्पूर्ण क्षेत्रवासीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै चुनावी अभियानमा सक्रियतापूर्वक सहभागी हुन आह्वान समेत गरेका छन् ।





