कलैया, १८ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकको विकास, समृद्धि र सामाजिक न्यायको यात्रालाई नयाँ ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यो निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको उल्लेख गरेका छन् ।
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले निर्वाचनलाई राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रूपमा लिएका छन् । यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर भएको उनले बताएका छन् । निर्वाचनलाई सफल बनाउनु सबैको साझा काम र ऐतिहासिक दायित्व भएकोमा उनले जोड दिएका छन् ।
देशले विगतका केही वर्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको बताएका छन् । यस निर्वाचनले निरङ्कुशताविरुद्ध सङ्घर्ष गर्ने अघिल्ला पुस्ता र सहिदहरूको सपना मात्र नभई नवयुवाहरूको सुशासन, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा समेत पूरा गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।
सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्दै प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरिएको चर्चा गर्दै उनले सामाजिक सुरक्षा कार्यक्रम र विपन्न समुदायको अधिकार मजबुत बनाउने प्रयास सुरु भएको बताएका छन् । पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य, सडक र सञ्चार जस्ता पूर्वाधारमा उल्लेख्य प्रगति भएको भन्दै उनले यी उपलब्धि जनताको बलिदान र सक्रिय सहभागिताको परिणाम भएको उल्लेख गरेका छन् ।
सुशासन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रपति पौडेलले आगामी निर्वाचनले लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने बताएका छन् । उनले सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र सञ्चारमाध्यमलाई निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहन आग्रह गरेका छन् । मतभिन्नता स्वाभाविक भए पनि सहिष्णुता र विधिको शासनप्रति सम्मान हाम्रो साझा मूल्य हुनुपर्नेमा उनले विशेष जोड दिएका छन् ।





