कलैया, २० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिरहा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार रहेका यादवलाई गएराति मौन अवधिको समयमा ठूलो परिमाणमा नगदसहित फेला पारिएको हो।

नेपाल–भारत सीमा क्षेत्र माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र२–०२–००१च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा सुरक्षाकर्मीको संयुक्त टोलीले चेकजाँच गरेको थियो।

सो क्रममा गाडीभित्र लुकाइछिपाई राखिएको ४ लाख ८७ हजार रुपैयाँ नगद फेला परेपछि उम्मेदवार यादवसहित पाँच जनालाई तत्काल नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले जानकारी दिएका छन् ।

मौन अवधिमा मतदाता प्रभावित पार्न रकम बोकेर हिँडेको आशंकामा उनीहरूलाई हिरासतमा राखिएको छ। पक्राउ परेका सबैलाई थप कानुनी कारबाही र निर्वाचन कसुर अन्तर्गतको प्रक्रियाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।