कलैया, २१ फागुन । मुलुकभर आज प्रतिनिधिसभा सदस्यका लागि ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान हुँदै छ।मतदान बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।

प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि देशभरका १० हजार ९६७ मतदानस्थलमा उत्साहजनक रूपमा मतदान सुरु भएको छ। यस पटकको निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् भने प्रत्यक्षतर्फ ३ हजार ४०६ र समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवारहरू चुनावी मैदानमा छन्।

निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन देशभर झण्डै साढे ३ लाख सुरक्षाकर्मी र २ लाख १५ हजार कर्मचारी खटाइएको निर्वाचन आयोगले जनाएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सुत्केरी महिलाहरूलाई मतदानमा प्राथमिकता दिने विशेष व्यवस्था गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री सुशीला कार्की लगायतका शीर्ष व्यक्तित्वहरूले निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आम नागरिकलाई आह्वान गरेका छन् ।

निर्वाचनको पर्यवेक्षणका लागि ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्थाहरू समेत सक्रिय रहेका छन्।