कलैया, २५ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हासिल गरेको ऐतिहासिक जित र सफलताप्रति खुसी व्यक्त गर्दै पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई टेलिफोन गरी बधाई दिएका छन् ।
प्रधानमन्त्री मोदीले आज सामाजिक सञ्जालमार्फत दुवै नेतासँग आफ्नो न्यानो र सौहार्दपूर्ण कुराकानी भएको जानकारी दिएका हुन । निर्वाचनमा प्राप्त शानदार सफलताका लागि बधाई दिँदै मोदीले रास्वपाको नेतृत्वमा बन्ने आगामी नयाँ सरकारलाई सफलताको शुभकामना समेत व्यक्त गरे ।
प्रधानमन्त्री मोदीले लेखेका छन्, “म विश्वस्त छु कि हाम्रो संयुक्त प्रयासले भारत र नेपालबीचको सम्बन्ध आगामी वर्षहरूमा नयाँ उचाइमा पुग्नेछ।”
उनले लेखेका छन् “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहसँग मेरो न्यानो टेलिफोन संवाद भयो। नेपालको निर्वाचनमा प्राप्त उहाँहरूले प्राप्त गर्नुभएको जित तथा रास्वपाले हासिल गरेको उल्लेखनीय सफलताप्रति दुवै नेतालाई बधाई दिएको छु। साथै, गठन हुन लागेको नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै दुई देशको आपसी समृद्धि, प्रगति र जनकल्याणका लागि भारतले उहाँहरूसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको सन्देश दिएको छु। हाम्रो संयुक्त प्रयासबाट आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध अझ नयाँ उचाइमा पुग्नेछ भन्नेमा म विश्वस्त छु।”





