कलैया, ०४ चैत । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को अन्तिम परिणामसहितको प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने भएको छ।
सोही दिन बिहान ११:३० बजे आयोगले समानुपातिकतर्फका ११० सांसदलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरेको छ। प्रतिवेदन बुझाएलगत्तै संविधानको धारा ७६ (१) बमोजिम नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुनेछ।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट (प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७) सहित स्पष्ट बहुमत प्राप्त गरेको छ।
अन्य दलहरूमा नेपाली कांग्रेसले ३८, एमालेले २५ र नेकपाले १७ सिट हासिल गरेका छन्। आयोगले बिहीबार साँझ ५:३० बजे पत्रकार सम्मेलन गरी निर्वाचनको समग्र पक्षबारे औपचारिक जानकारी दिने तयारी गरेको छ।





