कलैया, ०६ चैत । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आगामी चैत १२ गते बिहीबार दिउँसो २:०० बजे सिंहदरबारस्थित नवनिर्मित भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना गर्ने भएको छ।
संसद् सचिवालयद्वारा जारी सूचना अनुसार निर्वाचित सदस्यहरूलाई औपचारिक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ।
मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले तीन दिन अगावै शपथको ब्यहोरा अनुवाद गरी सचिवालयमा उपलब्ध गराउनुपर्ने प्रावधान राखिएको छ भने कार्यक्रममा आउँदा निर्वाचन आयोगको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको तस्बिर अनिवार्य साथमा ल्याउनुपर्नेछ।
सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचनालाई देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निर्वाचित सदस्यहरूसम्म पुर्याउन समेत समन्वय गरिएको छ ।






