कलैया, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै जनताले दिएको मतादेशलाई जिम्मेवारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आफूहरू सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्न आएको स्पष्ट पार्दै उनले अबका दिनमा बोलेर नभई काम गरेर प्रमाणित गर्ने उद्घोष गरेका छन् । संसद्लाई प्रतिशोधको थलो नभई बहसको थलो बनाउने र सुशासनको बेगलाई कसैले रोक्न नसक्ने उनले बताए ।
लामिछानेले बिचौलिया र माफियाको प्रभाव अन्त्य गरी निजी क्षेत्रलाई सहज व्यावसायिक वातावरण मिलाउने, राजदूत नियुक्तिमा श्रमिकको हितलाई प्राथमिकता दिने र राजनीतिक नियुक्तिहरूमा विधि एवं योग्यताको मापदण्ड कडाइका साथ पालना गर्ने संकल्प गरे।
साथै, गैरआवासीय नेपालीको पुँजी र सीपलाई देश विकासमा जोड्दै मित्रवत् र पारदर्शी परराष्ट्र नीति अवलम्बन गर्ने उनले बताएका छन् । उनले संसद्मा कसैलाई अन्यायपूर्ण प्रतिशोध नसाधिने तर न्यायको हक स्थापित गर्न दृढ रहने स्पष्ट पारेका छन् ।





