कलैया, १९ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक माथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको छ।
प्रहरीले पूर्व गृहमन्त्री लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको भए पनि अदालतले दुई दिनको मात्र म्याद दिएको छ। उनीमाथि आन्दोलनकारीमाथि अत्यधिक बल प्रयोग गरी मानवअधिकार उल्लंघन गरेको र दमनको नेतृत्व गरेको आरोप लागेको छ।
यसैगरी, सोही प्रकरणमा मुछिएका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि अनुसन्धानका लागि अदालतले थप दुई दिनको म्याद दिएको छ। आन्दोलनको क्रममा भएको क्षति र बल प्रयोगका सम्बन्धमा जाँचबुझ आयोगले ओलीमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा वर्तमान सरकारले उनलाई चैत १४ गते भक्तपुरको गुण्डुस्थित निजी निवासबाट पक्राउ गरेको हो।
हाल स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनलाई २४ घण्टा निगरानीमा राख्नुपर्ने भएकाले प्रहरीले अस्पतालमै बयान लिने प्रक्रिया अगाडि बढाएको छ।





