कलैया, २२ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सुरु भएको छ। निर्वाचन आयोगले गत मङ्सिर ६ गतेदेखि रोकेको यो प्रक्रियालाई चैत १८ गतेको निर्णयअनुसार फेरि सञ्चालनमा ल्याएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अब नागरिकहरूले थप सहज रूपमा आफ्नो नाम दर्ता र विवरण अद्यावधिक गर्न सक्नेछन्।
आयोगले यसपटक प्रविधिमैत्री व्यवस्था मिलाउँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नागरिकहरूले अनलाइन प्रणालीमार्फत नै आफ्नो नाम दर्ता गर्न सक्ने जनाएको छ। राष्ट्रिय परिचयपत्र नभएकाहरूको हकमा भने आयोगको प्रि-इनरोलमेन्ट प्रणालीबाट अनलाइन फारम भरी फोटो र औठाछापका लागि सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ।
दर्ताका अतिरिक्त नामावलीमा रहेका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, र बसाइँसराइ वा मृत्यु भएकाहरूको विवरण अद्यावधिक गर्ने कार्य पनि अनलाइनबाटै गर्न सकिनेछ। साथै, नागरिकता अनुसारको विवरण सच्याउन र पायक पर्ने मतदानस्थलमा नाम सार्न समेत मिल्ने व्यवस्था मिलाइएको छ। आयोगले सम्पूर्ण योग्य नागरिकलाई यस प्रक्रियामा सक्रिय सहभागी हुन आह्वान गरेको छ।





