बारा, २६ चैत । नेपाल सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको दुई साता लामो युद्धविराम सम्झौताको स्वागत गरेको छ।
परराष्ट्र मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस कदमलाई पश्चिम एसियामा व्याप्त तनाव न्यूनीकरण गर्ने एउटा सकारात्मक सुरुवातको रूपमा टिप्पणी गरेको हो। मन्त्रालयका अनुसार यो सहमतिले आपसी संवाद, कूटनीति र मतभेदहरूलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्न नयाँ अवसर सृजना गरेको छ।
सरकारले यस युद्धविरामलाई क्षेत्रीय शान्ति र स्थायित्व प्रवद्र्धनका लागि महत्त्वपूर्ण पहलका रूपमा लिँदै जुनसुकै विवादको समाधान शान्तिपूर्ण रूपमा खोजिनुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा द्वन्द्वका कारण उत्पन्न मानवीय संकटप्रति गहिरो चिन्ता व्यक्त गर्दै सर्वसाधारण नागरिकको सुरक्षा र हितलाई प्राथमिकताका साथ सुनिश्चित गरिनुपर्ने आवश्यकता औँल्याइएको छ। साथै, क्षेत्रीय तथा विश्वव्यापी रूपमा दिगो शान्ति कायम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायबाट भइरहेका सबै सकारात्मक प्रयासप्रति नेपाल सरकारले आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता समेत जनाएको छ।





