बारा, ०९ वैशाख । विवादास्पद व्यवसायी दीपक भट्टसँगको व्यवसायिक साझेदारी र कम्पनीमा सेयर रहेको तथ्य बाहिरिएपछि चौतर्फी आलोचना खेपिरहेका गृहमन्त्री सुधन गुरुङ आज प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेका छन् ।
उक्त भेटमा मन्त्री गुरुङमाथि लागेका आरोप र विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
विशेष गरी सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको घेरामा रहेका व्यवसायी भट्टसँग ‘स्टार माइक्रो इन्स्योरेन्स’ लगायतका कम्पनीमा संस्थापक सेयर रहेको र उक्त विवरण सार्वजनिक सम्पत्ति विवरणमा नखुलाएको आरोप गुरुङमाथि लागेको छ।
यो प्रकरण सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक दल र नागरिक समाजले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठाउँदै तत्काल राजीनामाको माग गरेका छन्।
गृहमन्त्री गुरुङले भने आफूले कुनै पनि विवरण नछुपाएको र सबै लगानी बैंकिङ च्यानलबाटै भएको दाबी गर्दै आएका छन्। तर, छानबिनको प्रक्रियालाई प्रभाव पार्न सक्ने भन्दै उहाँले पदबाट हटेर अनुसन्धानलाई सहयोग गर्नुपर्ने माग संसद्देखि सडकसम्म चर्किएको छ।





