बारा, २० वैशाख । बारामा गहुँ उत्पादनमा कमि आएको छ।
कृषि ज्ञान केन्द्र बाराका अनुसार मौसम अनुकूल नहुँदा उत्पादनमा १७ हजार ९८० मेट्रिकटनले कमी आएको हो। आर्थिक वर्ष २०८२/८३ मा किसानले २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका गहुँखेती गरेका थिए।
जसमा प्रतिहेक्टर ३.१ मेट्रिकटन उत्पादन हुने अपेक्षा गरिएको भए तापनि प्रतिकूल मौसमका कारण प्रतिहेक्टर उत्पादकत्व २.४८ मेट्रिकटनमा सीमित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यसका कारण चालु आवमा जिल्लाभर कूल ७१ हजार ९२ मेट्रिकटन मात्र गहुँ उत्पादन भएको छ।
गहुँको उत्पादन परिमाण घटे पनि यसको गुणस्तर भने राम्रो रहेको पाइएको छ। उत्पादित गहुँ स्तरीय भएकाले कलैया लगायतका आसपासका बजारमा प्रतिक्विन्टल चार हजार रुपैयाँका दरले बिक्री भइरहेको केन्द्रका कृषि अर्थविज्ञ गणेश महराले जानकारी दिएका छन्।
तुलनात्मक रूपमा हेर्दा गत आर्थिक वर्षमा जिल्लामा ९६ हजार ६२० मेट्रिकटन गहुँ उत्पादन भएको थियो । जसको कुल बजार मूल्य चार अर्ब दुई करोड ५६ लाख ६० हजार बराबर रहेको थियो।




