बारा, २४ वैशाख । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीशमा न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको छ।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष बालेन शाहको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको प्रधानन्यायाधीश पदका लागि शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उमेर हदका कारण गत चैत १८ गते अवकाश पाएपछि यो पद रिक्त थियो र वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी थिइन्। न्याय परिषद्ले यसअघि प्रधानन्यायाधीशका लागि मल्लसहित ६ जना वरिष्ठ न्यायाधीशहरूको सूची संवैधानिक परिषद्मा पठाएको थियो ।
संवैधानिक परिषद्बाट सिफारिस भएपछि अब संसदीय सुनुवाइको प्रक्रिया अगाडि बढ्नेछ। संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।



