Thursday, June 4, 2026

जीतपुरसिमरामा बजार अनुगमन: लेबल नभएको खाद्य सामग्री बिक्री गर्ने उद्योगलाई २० हजार जरिवाना

spot_img

बारा, २९ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा मंगलबार संयुक्त बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्वमा गएको टोलीले उपमहानगरपालिकाको वडा नं. १ र २ मा रहेका खाद्य, किराना र स्वीट्स मिठाई पसल गरी जम्मा १० वटा व्यावसायिक फार्महरूको अनुगमन गरेको हो।

अनुगमनका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित नारायणी फुड्स उद्योगले आवश्यक विवरणसहितको लेबल नलगाइएका खाद्य सामग्रीहरू बजारमा बिक्री वितरणका लागि पठाएको फेला परेको थियो। सो लगत्तै अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन बमोजिम उद्योगलाई तत्कालै २० हजार जरिवाना गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रशासन शाखाका रत्न स्याङतानका अनुसार अनुगमन गरिएका अन्य ९ वटा फार्महरूमा पनि सानातिना कैफियत देखिएकाले उनीहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ का प्रावधानहरू पूर्ण रूपमा पालना गर्न र व्यवसायिक पारदर्शिता कायम राख्न निर्देशन दिइएको छ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बारा, घरेलु तथा साना उद्योग कार्यालय बारा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्ज, जिल्ला प्रहरी कार्यालय बारा र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यस अघि सोमबार मात्र अनुगमन टोलिले दुईवटा पसललाई कुल ७० हजार जरिवाना गरेको थियो ।

बजारमा अखाद्य वस्तुको बिक्री वितरण रोक्न र कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न यस्ता अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रशासनले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर