बारा, ११ जेठ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीविरुद्ध देउवाले वारेशमार्फत दायर गरेको रिटमाथि सोमबार (जेठ ११ गते) दुवै पक्षबीच छलफल भएपछि न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। तर, देउवा दम्पतीले जिल्ला अदालतलाई पक्राउ अनुमति दिने क्षेत्राधिकार नभएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
वैशाख १८ गते जारी अध्यादेशअनुसार सम्पत्ति शुद्धीकरण विभागले गर्ने अनुसन्धानबाट चल्ने मुद्दाको क्षेत्राधिकार विशेष अदालतको हुने जिकिर रिटमा गरिएको छ।
यसअघि अघिल्लो साता सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। देउवाले आफू अनुसन्धानमा सहयोग गर्न र सम्पत्तिको स्रोत देखाउन तयार रहेको उल्लेख गर्दै पक्राउ गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।
आम निर्वाचनअघि उपचारका लागि विदेश गएका देउवा दम्पती हाल हङकङमा रहेका छन् र उनीहरू अझै नेपाल फर्किएका छैनन्।



