Wednesday, June 24, 2026

स्थानीय तह चुनावको पूर्वतयारीमा आयोग: तीन महिनामा थपिए एक लाख ८१ हजार नयाँ मतदाता

बारा, १० असार । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारीमा ध्यान दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि बितेका तीन महिनामा मात्रै एक लाख ८१ हजार ३६७ जना नयाँ मतदाता थपिएका छन्।

गत प्रतिनिधिसभा निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका थिए। मतदाता सङ्ख्या वृद्धि भएसँगै आयोगले विवरण सच्याउने कार्यलाई पनि अघि बढाएको छ, जसअन्तर्गत पछिल्लो निर्वाचनयता १८ हजार छ सय २२ वटा मतदाता नामावली अद्यावधिकका लागि निवेदनहरू प्राप्त भएका छन्।

हाल आयोगले निर्वाचनको आन्तरिक तयारी स्वरूप मतदाता नामावली अद्यावधिक गर्ने, मतदान स्थल तथा मतदान केन्द्रहरूको पुनरावलोकन गर्ने जस्ता प्राविधिक तथा व्यवस्थापकीय कार्यहरू सञ्चालन गरिरहेको छ।

यसै तयारीका सिलसिलामा यही असार ४ गते राष्ट्रियसभाको ‘राष्ट्रिय समावेशीकरणको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को बैठकमा आयोगका पदाधिकारीहरूबिच गहन छलफल समेत भएको थियो।

उक्त बैठकमा आसन्न निर्वाचनलाई स्वच्छ, व्यवस्थित र समयमै सम्पन्न गर्नका लागि विभिन्न महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरिएका थिए। समितिले निर्वाचन हुने निर्धारित मितिभन्दा कम्तीमा छ महिना अगावै निर्वाचनको मिति घोषणा गरिनुपर्ने, आवश्यक बजेट समयमै उपलब्ध गराउनुपर्ने र आयोग तथा मातहतका निकायमा रिक्त रहेका पदहरू तत्काल पूर्ति गर्नुपर्नेमा जोड दिएको छ।

यसबाहेक मतदाता नामावली व्यवस्थापन प्रणालीलाई आधुनिक र स्तरोन्नति गर्ने, आधुनिक उपकरणको प्रयोग गरी मतपत्र छाप्ने तथा निर्वाचनका बेला फैलाइने गलत सूचना र भ्रमलाई चिर्न एक प्रभावकारी संयन्त्रको विकास गरिनुपर्ने जस्ता रचनात्मक सुझावहरू समेत आयोगलाई दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर