Tuesday, June 30, 2026

७७ जिल्लाका सीडीओलाई होटल तथा रेस्टुरेन्ट अनुगमन गर्न गृह मन्त्रालयको निर्देशन

बारा, १६ असार । गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई आ-आफ्नो क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरूको अनुगमन गर्न निर्देशन दिएको छ।

मन्त्रालयद्वारा जारी गरिएको पत्रमा विभिन्न होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको भन्दै सर्वसाधारण नागरिकहरूबाट व्यापक गुनासाहरू प्राप्त भएपछि यो कदम चालेको उल्लेख छ।

नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै गृह मन्त्रालयले खाद्य स्वच्छता कायम राख्न नियमित, सघन र आकस्मिक अनुगमन गरी दोषी पाइएमा कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको छ।

त्यसैगरी, मन्त्रालयले आम नागरिकका गुनासाहरू सहजै दर्ता गर्न सकिने गरी प्रत्येक जिल्ला प्रशासन कार्यालयमा तुरुन्त एक गुनासो सुनुवाइ संयन्त्र स्थापना गर्न समेत निर्देशन दिएको छ। नागरिक स्तरबाट प्राप्त हुने गुनासाहरूलाई उच्च प्राथमिकतामा राखी तत्काल समाधान गर्न र साना-तिना विषयमा पनि नागरिकहरू केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने स्थितिको पूर्ण रूपमा अन्त्य गर्न भनिएको छ।

जिल्ला प्रशासनको कार्यसम्पादनलाई मन्त्रालयले प्रत्यक्ष सुपरीवेक्षण गर्ने भएकाले यस कार्यमा कुनै पनि किसिमको असक्षमता वा उदासीनता प्रस्तुत नगर्न र आफ्नो पूर्ण व्यावसायिकता प्रदर्शन गर्दै विधिको शासन कायम गर्न शाखा अधिकृत संगम सापकोटाद्वारा हस्ताक्षरित उक्त पत्रमा स्पष्ट पारिएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर