बारा, २४ असार । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद अर्याललाई लक्षित गर्दै विवादित प्रश्न गरेपछि सभामुखले उनको माइक काटेका छन्।
बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुख महोदय, ‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न’ भनी प्रश्न गरेपछि सभामुख अर्याल आक्रोशित बनेका थिए। सांसदको उक्त शैलीप्रति आपत्ति जनाउँदै सभामुखले “माननीय सदस्य ! तपाईं सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, त्यसो हुँदा तपाईं बस्नूस्” भन्दै राईलाई तत्कालै बोल्नबाट रोक्न निर्देशन दिएका थिए।
सभामुखले एमाले सांसद राईलाई बीचमै रोकेर उनको माइक काटेपछि एमालेका अन्य सांसदहरूले समेत उठेर सदनमा विरोध जनाएका थिए। त्यसलगत्तै सभामुख अर्यालले संसद्को गरिमा र मर्यादा विपरीत सभामुखको अपमान हुने गरी भाषा प्रयोग गरिएको भन्दै संसद्को गम्भीर ध्यानाकर्षण गराए।
सोही विषयलाई लिएर सदनमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद बढ्दै गएपछि सभामुखले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।



