बारा, ०३ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार र मिटरब्याजपीडितहरूबीच भएको सहमतिप्रति टिप्पणी गर्दै सरकारले पीडितहरूलाई फेरि एकपटक धोका दिएको दाबी गरेका छन्।
आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यो सहमति तत्कालका लागि सामसुम पारिए पनि पीडितहरूले केही समयपछि मात्र आफूहरू ठगिएको र यो एक धोका भएको कुरा बुझ्ने उल्लेख गरे।
सोही कार्यक्रममा उनले देशको वर्तमान आर्थिक अवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। सरकारले देशको संकटग्रस्त अर्थतन्त्रलाई सही मार्गमा ल्याउनुको साटो अर्थतन्त्र डुबेको छैन भनी देखाउनका लागि झनै गलत कदमहरू चालेर यसलाई थप धराशयी बनाएको उनको आरोप थियो।
अध्यक्ष ओलीले सरकारको अदूरदर्शी नीतिका कारण बढ्दै गएको मूल्यवृद्धि र कर वृद्धिले गरिब तथा सर्वसाधारण जनतालाई झनै ठूलो आर्थिक संकटमा धकेल्ने चेतावनी समेत दिए।



