काठमाडौं, २० साउन। नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ साउन २० गते बसेको बैठकले विभिन्न नीतिगत, प्रशासनिक तथा कानुनी विषयमा सातवटा महत्त्वपूर्ण निर्णय गरेको छ।
बैठकले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा याङकी उक्याव (काठमाडौं) लाई नियुक्त गर्ने निर्णय गरेको छ।
त्यसैगरी, नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ।सरकारले पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरेको छ। साथै, बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसदमा पेस गर्न पनि स्वीकृति दिएको छ।
बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर के.सी. (पर्वत) र सचिव पदमा प्रा. डा. रोजी श्रेष्ठ (भोजपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैगरी, सुनसरी र सिराहा जिल्लामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवार तथा घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।




