Thursday, August 6, 2026

कलैयाको ग्यास पसलहरूमा प्रशासनको छड्के अनुगमन

बारा, २१ साउन । जिल्ला प्रशासन कार्यालय बाराले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन र सम्भावित कालोबजारी रोक्न अनुगमन तीव्र पारेको छ। यसै क्रममा प्रशासनको अनुगमन टोलीले सदरमुकाम कलैयाका तीन वटा एलपी ग्यास पसलहरूमा आकस्मिक (छड्के) अनुगमन गरेको हो।

नायब सुब्बा रत्नबहादुर स्याङतानको नेतृत्वमा खटिएको टोलीले कलैयास्थित न्यु शिवशक्ति स्टोर्स, सोना ग्यास स्टोर्स, र अस्मिता स्टोर्समा स्थलगत निरीक्षण गरेको थियो। अनुगमनका क्रममा न्यु शिवशक्ति स्टोर्सले खुद्रा रूपमा ग्यास पल्टी गरेर बिक्री गरिरहेको कार्य भेटिएको नायब सुब्बा स्याङतानले जानकारी दिए।

त्यसैगरी, सोना ग्यास स्टोर्सले बिक्रीका लागि पसलमा राख्नुपर्ने ग्यास सिलिन्डर आफ्नै निजी घरमा भण्डारण गरेको पाइएकाले प्रशासनले ती सिलिन्डर पसलमै राखेर पारदर्शी रूपमा बिक्री-वितरण गर्न चेतावनी दिएको छ। अनुगमन गरिएका मध्ये अस्मिता स्टोर्समा भने कुनै अनियमितता वा कैफियत नदेखिएको टोलीले जनाएको छ।

बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा उपभोक्तालाई सास्ती दिने गतिविधि बढेको गुनासो आएपछि प्रशासन कडा रूपमा प्रस्तुत भएको हो। यसअघि बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले ग्यासको सहज आपूर्ति र न्यायोचित वितरण सुनिश्चित गर्न ग्यास उत्पादक, वितरक तथा डिलरहरूका लागि ९ बुँदे कडा निर्देशन जारी गरेका थिए।

जिल्ला प्रशासन कार्यालय बाराले बजारमा उपभोक्ता अधिकार हनन हुन नदिन र नियम विपरीत कार्य गर्ने व्यापारीलाई कारबाहीको दायरामा ल्याउन यस्ता छड्के अनुगमनहरू निरन्तर जारी रहने जनाएको छ। प्रशासनले ग्याँससम्बन्धी समस्या भएमा सहायक प्रमुख जिल्ला अधिकारीलाई फोन नम्बर ९८५५०४५४०३ मा कल गर्न वा ह्वाट्सएप नम्बर ९८५५००७७७८ मा सन्देश पठाउन अनुरोध गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर