बारा, २५ साउन । बाराको फेटा गाउँपालिका–७ कुकुरभुक्कामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा फेटा गाउँपालिका–७ कुकुरभुक्का निवासी लक्ष्मी साह तेलीका छोरा १८ वर्षीय गणेश साह तेली रहेका छन्।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १२ बजे स्थानीय रुप नारायण साह कानुको घरमा शिवगुरुको पूजा हुने तयारी भइरहेको थियो। पूजामा भजन बजाउनका लागि स्थानीय महिलाहरूले सामूहिक रूपमा रकम संकलन गरी खरिद गरेको स्पिकरको एम्प्लिफायरको तार विद्युत् बोर्डमा जोड्ने क्रममा गणेशलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका गणेशलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारा लगिएको थियो। अस्पतालमा दिउँसो १२ बजेर ३८ मिनेटमा ECG परीक्षण गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे अस्पतालमा खटिएका प्रहरी कर्मचारीले दिउँसो १ बजेर १ मिनेटमा इलाका प्रहरी कार्यालय छतवालाई जानकारी गराएका थिए। जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी नायब निरीक्षक कृष्णनन्दन ठाकुरको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




