काठमाडौँ, २६ साउन । नेपाल सरकारको अनुमति नलिई निशान छाप (राष्ट्रिय प्रतीक) को अनधिकृत प्रयोग गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षीय दीपेन्द्र कर्माचार्यलाई काठमाडौँको टेवहालबाट पक्राउ गरेको छ।
स्थायी घर रौतहट भई हाल काठमाडौँ-२२ बस्दै आएका कर्माचार्यले चीनबाट आयात गरिएका जीपीएस ट्र्याकर डिभाइसमा सरकारी निशान छाप टाँसी, ती उपकरणहरू नेपाल सरकारबाट मान्यता प्राप्त रहेको भन्दै झुठा प्रचारप्रसार गरेर बिक्री-वितरण गर्दै आएका थिए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनको साथबाट निशान छाप अङ्कित ५२ थान जीपीएस ट्र्याकर बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको छ।




