बारा, २७ साउन । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ।
मङ्गलबार दिउँसो नदीमा नुहाउन गएका देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार दुवै शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ। घटनामा बेपत्ता भएकी अर्की एक बालिकाको भने अझै खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।




