बारा, २८ साउन । सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन हुने व्यवस्थाले नागरिकलाई सार्वजनिक सेवा लिन सहज हुनुका साथै कर्मचारीको मनोबल र कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको सरकारले जनाएको छ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कार्यालय समय परिमार्जनपछि सार्वजनिक सेवा प्रवाह थप चुस्त र सहज बनेको दाबी गरिन्।
उनले प्रधानमन्त्रीको तर्फबाट जवाफ प्रस्तुत गर्दै बिहानै कार्यालय खुल्दा सेवाग्राहीहरूले दिनको सुरुवाती समयमै निकायहरूमा पहुँच पाएको र यसले नागरिकको समय व्यवस्थापनमा ठूलो सहयोग पुगेको उल्लेख गरिन्।
यद्यपि, राष्ट्रिय सभा बैठकमा सांसदहरुले दुई दिने बिदाका कारण शिक्षा, व्यापार र सरकारी सेवा प्रभावित भएको भन्दै पुनः पुरानै एक दिने बिदा प्रणालीमा फर्कनुपर्ने धारणा व्यक्त गरेका थिए। सांसदहरूका सुझाव र चासोलाई अध्ययनको दायरामा राखिने जनाउँदै मन्त्री गौतमले सातामा दुई दिन बिदा दिने वर्तमान व्यवस्थालाई तत्काल पुनरावलोकन गर्ने वा परिवर्तन गर्ने सम्बन्धमा भने कुनै गृहकार्य अघि नबढाइएको स्पष्ट पारेकी छन्।
मन्त्री गौतमले सातामा दुई दिन सार्वजनिक बिदा र बिहान ९ बजेको कार्यालय समयले कर्मचारीको कार्य-जीवन सन्तुलन कायम गर्न सहयोग पुर्याएको बताइन्। यस व्यवस्थाले कर्मचारीको कामप्रतिको उत्प्रेरणा, क्षमता र समग्र कार्यसम्पादनमा सकारात्मक असर परेको सरकारको उनले बताइन्।




