बारा, २९ साउन । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा प्रमुख राजमार्ग तथा सहायक सडकखण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै विपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा राति ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने कान्ति लोकपथमा पनि बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म आवतजावत बन्द गरिएको छ।
त्यस्तै, पहिरो र सडक भासिँदा अरनिको राजमार्गका विभिन्न खण्ड (चारकिलो, कोदारी र लिपिङ) तथा सडक कटानका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेशी सडक पूर्ण रूपमा ठप्प भएका छन्। यसका साथै मेची राजमार्गको राजदुवाली खण्ड हिलोका कारण अवरुद्ध भए पनि वैकल्पिक मार्ग सञ्चालनमा छ।
उता भेरी करिडोर, मध्यपहाडी लोकमार्गका विभिन्न खण्डहरू (रुकुम पूर्व र लमजुङ), बेँसीसहर–मनाङ सडक तथा बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण ठप्प हुँदा सर्वसाधारण र यात्रुहरूले निकै सास्ती व्यहोर्नुपरेको छ।




