Sunday, August 16, 2026

जितपुरसिमरा नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालनका लागि अनुमति माग

Advertisement
Advertisement Advertisement

बारा, ३१ साउन । बाराको जितपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालन गर्न आवश्यक अनुमतिका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुसँग अनुरोध गरेको छ।

नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलाद्वारा हस्ताक्षरित पत्रमार्फत अस्पतालको अनुगमन गरी सेवा सञ्चालनको आधिकारिक अनुमति दिन आग्रह गरिएको हो।

नगर अस्पतालमा विगत तीन वर्षदेखि मेडिकल अफिसर, नर्स तथा पारामेडिक्सको टोलीमार्फत २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध गराइँदै आएको छ। हाल आवश्यक औषधि, उपकरण तथा भौतिक पूर्वाधारको तयारी पूरा भइसकेकाले महाशाखाबाट स्वीकृति प्राप्त हुनासाथ सेवा सुरु गर्न अस्पताल पूर्ण रूपमा सक्षम रहेको प्रतिबद्धता व्यक्त गरिएको छ।

जितपुरसिमरा क्षेत्रमा वैशाखदेखि कात्तिकसम्मको अवधिमा वार्षिक औसत ५० देखि ५५ जना सर्पदंशका शिकार हुने गरेका छन्। हालसम्म स्थानीय बिरामीलाई करिब ४० किलोमिटर टाढाको कलैया प्रादेशिक अस्पताल वा ३० किलोमिटर दूरीमा रहेको नारायणी अस्पताल, वीरगञ्ज लैजानुपर्ने बाध्यता छ।

समयमै उपचार नपाउँदा चालु आर्थिक वर्षमा दुई जना बालबालिकाको ज्यान गइसकेको अवस्थालाई ध्यानमा राख्दै स्थानीयस्तरमै उपचार केन्द्र स्थापना गर्न लागिएको हो। नगर अस्पतालबाटै यो सेवा सञ्चालनमा आएमा अनावश्यक यात्रा, ढिलाइ र अकालमा हुने मृत्यु तथा अपाङ्गता न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर