बारा, ०१ भदौ । व्यवसायीहरूले अघि सारेका विभिन्न पेसागत मागहरूप्रति सरकारले कुनै सुनुवाइ नगरेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनीहरूको सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।
संघको यस निर्णयसँगै सदस्य व्यवसायीहरूले आफ्ना कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सबै प्रशासनिक तथा व्यावसायिक प्रक्रियाहरूसमेत अनिश्चितकालका लागि ठप्प पारेका छन्।
यसअघि चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत नयाँ विज्ञापन प्रकाशन, पूर्व तथा अन्तिम श्रम स्वीकृति र भिसा स्ट्याम्पिङजस्ता कार्य रोकिसकेको संघले पहिले नै श्रम स्वीकृति पाइसकेका श्रमिकहरूतर्फ लक्षित गरी दिइएको निश्चित उडान समयसीमा सकिएलगत्तै पूर्ण बन्दको कदम चालेको हो।
व्यवसायीहरूले पटक–पटक आग्रह गर्दा पनि सरकारले संवाद र माग सम्बोधनमा बेवास्ता गरेपछि बाध्य भएर कडा आन्दोलनमा उत्रिनुपरेको जनाएका छन्।
म्यानपावर कम्पनीहरूको सम्पूर्ण काम-कारोबार ठप्प हुँदा दैनिक हजारौँको संख्यामा वैदेशिक रोजगारीको प्रक्रियामा रहेका, भिसा पर्खिरहेका र उडानको तयारीमा रहेका नेपाली युवाहरूको यात्रा एवं कागजी प्रक्रिया प्रत्यक्ष रूपमा प्रभावित भई अन्योल सिर्जना भएको छ।




