बारा, ०१ भदौ । वर्षौंदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक वीरगन्ज चिनी कारखाना लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठोस प्रक्रिया अघि बढाएको छ।
मन्त्री गौरीकुमारी यादवको पहलमा कारखानाको वर्तमान अवस्था अध्ययन गरी सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार पार्न श्रीकान्त यादवको संयोजकत्वमा एक अध्ययन कार्यदल गठन गरिएको हो।
कार्यदलमा मन्त्रालयका शाखा अधिकृत र उद्योग विभागका अधिकृत प्रतिनिधि सदस्य रहेका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको यस कारखानाको विगतका निर्णय, अघिल्ला अध्ययन प्रतिवेदन, वित्तीय, आर्थिक, प्राविधिक तथा कानुनी अवस्थाका साथै भौतिक संरचना, मेसिनरी, जग्गा र सम्पत्तिको अतिक्रमण तथा समाधानका विकल्पबारे समेत विस्तृत विश्लेषण गरी कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ।




