काठमाडौ,०२ भदौ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण यथाशीघ्र अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ।
आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा अद्यावधिकको काम हुँदै आएको जानकारी दिएका छन्।
आयोगका अनुसार मतदाताको मृत्यु भएपछि एकाघरका परिवारका सदस्य वा अन्य व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिएर मतदाता नामावलीबाट मृतकको विवरण हटाउन सक्नेछन्। मतदाता नामावली अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयताको आधार भएकाले यसमा सबैको सहयोग आवश्यक रहेको आयोगले जनाएको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको कार्य सञ्चालन हुँदै आएको आयोगले जनाएको छ।
राष्ट्रिय परिचयपत्र भएका नेपाली नागरिकले त्यसकै आधारमा अनलाइन प्रणालीमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था छ। राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ।
त्यस्तै, मतदाता नामावलीमा नाम, थर तथा ठेगाना सच्याउने, एउटै वडाभित्र रहेका दुई वा सोभन्दा बढी मतदानस्थलमध्ये आफूलाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताको विवरणअनुसार सच्याउने तथा दोहोरो नाम हटाउनेलगायतका कामका लागि अनलाइन माध्यमबाट आवेदन दिन सकिने आयोगले जनाएको छ।




