बारा,०२ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा उच्च अदालत वीरगञ्जका रजिष्ट्रार तारादत्त बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ। उनको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो।
काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप बिहान करिब ७ बजे जुरिखेतमा अनियन्त्रित भई सडकबाट तल खोल्सामा खसेको थियो।
दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, रजिष्ट्रार ५७ वर्षीय तारादत्त बडु, उनकी श्रीमती लक्ष्मी, छोरा २५ वर्षीय रितेन्द्र, ३१ वर्षीया रिता तथा जिप चालक दाङको राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय छुनिलाल चौधरी घाइते भएका थिए।
मुख्य न्यायाधीश डाँगी र चालक चौधरीको मकवानपुरमै उपचार भइरहेको छ भने बडु परिवारका सदस्यलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।
बडु परिवारका सदस्यलाई मंगलबार बिहान करिब १०ः१५ बजे छाउनीस्थित सैनिक अस्पताल ल्याइएकोमा चिकित्सकले करिब १०ः३० बजे लक्ष्मीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।




