बारा, ०२ भदौ । बैंकबाट बोलेको र केवाईसी अपडेट गर्नुपर्ने भन्दै ठगी गर्ने कार्यमा संलग्न बाराका एक युवकसहित चार जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ बस्ने २२ वर्षीय अभय तिवारी, नवलपरासीका जय कुमार केवट, विद्या सागर केवट र पर्साका कुवेर थापा रहेका छन्।
बहालवाला तथा सेवानिवृत्त कर्मचारीहरूलाई लक्षित गरी फोन तथा ह्वाट्सएप कलमार्फत स्क्रिन सेयर गर्न लगाई वा ओटीपी कोड मागेर खाताको रकम अन्यत्र ट्रान्सफर गरी ठगी गरेको पुष्टि भएको ब्यूरोले जनाएको छ।
साइबर ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनीहरूलाई चितवनबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत ठगी कसुर मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।




