बारा, ०३ भदौ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ भक्तिनगरमा ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी पक्राउ परेका दुबै जनालाई सार्वजनिक गरेको हो ।
जीतपुर सिमरा-१ दसधुरी बस्ने मनमती चौधरीकी छोरी गरिमा साउन ३१ गतेदेखि हराइरहेकी थिइन्। भदौ २ गते वीरबहादुर रोकाको एक तले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको टोलीका साथै प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली खटाइएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा जीतपुर सिमरा-२ बस्ने १६ वर्षीय म्याजिक सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाई फकाएर लगेको र जबरजस्ती करणी गरी हत्या गरेको खुलेको छ। प्रहरीले घटनामा संलग्न सहचालक सुमन थापा र ना १ ज ७७५८ नम्बरको म्याजिक गाडीका २४ वर्षीय चालक प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको छ।
दुवै जनाविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।




