बारा, ०४ भदौ । संसदीय समितिले एलपीजी ग्यासको खपत, व्यवस्थापन र सुरक्षालाई थप व्यवस्थित बनाउन आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी ट्रयाकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ।
सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहबर अन्सारीले आयल निगम तथा सरोकारवाला निकायलाई सो निर्देशन दिएका हुन्। ग्यास सिलिन्डरको एकीकृत लगत राख्दै व्यावसायिक र घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै वर्गीकरण गर्नुपर्नेमा समितिले जोड दिएको छ।
व्यावसायिक प्रयोजनमा प्रयोग हुने सिलिन्डरमा उचित नाफा लिएर बिक्री गर्दा नेपाल आयल निगमको वित्तीय अवस्था सुधार हुने र त्यसले घरायसी उपभोक्तालाई सहुलियत दिन सहज हुने धारणा सभापति अन्सारीले राखे। उनले उपभोक्तालाई दिइने सहुलियतलाई निगमले व्यहोरिरहेको ‘घाटा’का रूपमा बुझ्नुपर्ने स्पष्ट पारे।
ग्यासको सुरक्षा र गुणस्तर सुनिश्चितताका लागि प्रत्येक सिलिन्डरको डिजिटल प्रोफाइल वा चिना तयार गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ। यस प्रणालीबाट सिलिन्डरको उत्पत्ति, भरिएको मिति र अन्तिम परीक्षण जस्ता विवरण सजिलै थाहा हुने हुँदा सिलिन्डरको रोटेसन बढ्ने, बजारमा मौज्दात व्यवस्थापन सहज हुने र सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।




