बारा, ०४ भदौ । बाराको सिमरामा साउन ३१ देखि हराइरहेकी ३ वर्षीया बालिका गरिमा चौधरी भदौ २ मा जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित एक खाली घरमा मृत अवस्थामा भेटिएकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ। बालिका हराएको जानकारी गराउँदा पनि प्रहरीले खोजतलास र अनुसन्धानमा गम्भीर बेवास्ता गरेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भई आन्दोलित बनेका थिए।
स्थानीयको तीव्र विरोध र अनुसन्धानमा लापरवाही गरेको आरोपपछि नेपाल प्रहरीले इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलिप क्षेत्री र इन्स्पेक्टर प्रकाश थापाको जिम्मेवारी खोसेको छ।
डीएसपी क्षेत्रीलाई त्यहाँबाट सरुवा गरी उनको ठाउँमा डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ भने इन्स्पेक्टर थापालाई प्रहरी हेडक्वार्टर फिर्ता बोलाइएको छ।




