बारा,१० भदौ । बाराको सिम्रौनगढ नगरपालिका–३ नयाँकटोलामा खेतमा मोटरबाट पानी निकाल्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा रामईश्वर दासका छोरा ३२ वर्षीय विजय दास रहेका छन्।
बुधबार साँझ करिब ५ बजे आफ्नै खेतमा मोटरबाट पानी निकाल्ने क्रममा करेन्ट लागेर घाइते भएका दासलाई उपचारका लागि धर्मलाल क्लिनिक, सिम्रौनगढ ल्याइएको थियो। तर चिकित्सकले साँझ ५ः२० बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
मृतक दासको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको प्रवक्ता घलेले जानकारी दिए।



