बारा, १७ भदौ । कलैया उपमहानगरपालिकालाई सुरक्षित, व्यवस्थित तथा अपराधरहित सभ्य समाजका रूपमा विकास गर्न माग गर्दै स्थानीय युवाहरूले नगर प्रमुख बिनोद साहलाई ज्ञापनपत्र बुझाएका छन्।
विभिन्न राजनीतिक, गैरराजनीतिक, पेसाकर्मी, विद्यार्थी तथा युवाहरुको साझा उपस्थितिमा नगर प्रमुखसमक्ष ६ बुँदे प्रमुख मागहरूसहित ध्यानकर्षण गराइएको हो।
ज्ञापनपत्रमा कलैया उपमहानगरपालिकामा विगत केही वर्षमा सञ्चालित विकास परियोजनाहरूले जनस्तरमा अपेक्षित परिवर्तन र आधुनिकता ल्याउन नसकेको भन्दै युवाहरूले असन्तुष्टि व्यक्त गरेका छन्। पछिल्लो समय कलैयामा असुरक्षा महसुस हुने अवस्था सिर्जना भएको, पर्याप्त सडकबत्तीको अभाव रहेको, र प्रभावकारी रात्रिकालीन सुरक्षा गस्ती तथा प्रविधिको प्रयोग हुन नसकेको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ।
युवाहरूले मुख्य ६ वटा माग अघि सारेका छन्:
१. आधुनिक AI-Integrated Security Surveillance System उच्च गुणस्तरका CCTV क्यामेरा जडान गरी २४ घण्टा डिजिटल निगरानी व्यवस्था गरियोस्। Face Detection/Recognition, Night Vision तथा Anti-Glare प्रविधिसहितको प्रणाली जडान् गरियोस्।
२. प्रत्येक सडक तथा गल्ली, सबै सडक र चोक पर्याप्त र गुणस्तरीय विद्युत् बत्ती तथा आवश्यक स्थानमा Heavy-Duty Solar Street Light जडान गरियोस्।
३. प्रभावकारी रात्रीकालीन सुरक्षा गस्ती सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी नगर प्रहरी र जिल्ला प्रशासन/प्रहरीको संयुक्त टोलीमार्फत रात्रीकालीन सुरक्षा गस्ती तथा निगरानीलाई प्रभावकारी बनाइयोस्।
४. आपतकालीन सेवा सुदृढीकरण गर्न कलैयामा मोबाइल एम्बुलेन्स तथा द्रुत प्रतिक्रिया दिने आपतकालीन सुरक्षा प्रणाली स्थापना गरियोस्।
५. लागुऔषध नियन्त्रण तथा युवा संरक्षण गर्न, लागुऔषधबाट युवाहरूलाई जोगाउन रोकथाम, जनचेतना, पुनर्स्थापना र निगरानीसहितको प्रभावकारी कार्यक्रम सञ्चालन गरियोस्।
६. युवाका लागि स्वरोजगार र उद्यमशीलता कार्यक्रम मार्फत स्थानीय युवालाई स्वरोजगार तथा उद्यममा जोड्न स्थानीय सरकारमार्फत सहुलियतपूर्ण/बिनाधितो ऋण तथा आवश्यकताअनुसार ब्याज अनुदानको व्यवस्था गरियोस्।
ज्ञापनपत्रमा आकाश साह, मनिष यादव, नेजामुदिन अंसारी, चन्दन ठाकुर, प्रविन पटेल, प्रभात सिंह, जाबेद अंसारी, सदाम अंसारी, राम यादव, दिपक यादव लगायत विभिन्न वडाका युवाहरूको हस्ताक्षर रहेको छ। युवाहरूले मागहरू तत्काल सम्बोधन नभए नागरिक आवाजलाई थप सशक्त बनाउन संघर्षका कार्यक्रमहरू अघि बढाउन बाध्य हुने चेतावनी दिएका छन्।







