Monday, September 7, 2026

‘आँसु लुकाएर दलदलमा पसिरहनुभएको छ’: सुरक्षाकर्मीको अदम्य साहसलाई प्रधानमन्त्रीको सलाम

Advertisement
Advertisement Advertisement

काठमाडौं, २१ भदौं। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, राहत तथा व्यवस्थापनमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरूको त्याग, निष्ठा र अदम्य साहसको उच्च प्रशंसा गर्नुभएको छ।

प्रधानमन्त्री शाहले नुवाकोटको विदुर–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा बाढीका बेला सुरक्षार्थ खटिएका ५२ जना सुरक्षाकर्मीले ९२३ जना कैदीबन्दीलाई सुरक्षित स्थानमा सारेको घटनालाई सुरक्षाकर्मीको साहसको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ। बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोष्ट र पर्खालमा क्षति पुर्‍याउँदै कैदीबन्दी राखिएको भवनको पहिलो तलासम्म लेदोसहितको पानी पसिसक्दा पनि सुरक्षाकर्मीले हिम्मत र धैर्य नगुमाएको उहाँले उल्लेख गर्नुभएको छ।

बाढीको मौका छोपेर पर्खाल र गेट तोडी करिब १०० मिटरसम्म भागेका ५० जना कैदीबन्दीलाई समेत सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएका थिए। भाग्न नपाएका कैदीबन्दीको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते भए पनि उनीहरूले आफ्नो कर्तव्यबाट पछि नहटी वरपरका स्थानीय बासिन्दाको समेत ज्यान जोगाएको प्रधानमन्त्री शाहले बताउनुभएको छ। अहिले पनि उनीहरू बस्ने ब्यारेक र कार्यालय लेदोमा रहेको, पहुँचमार्गसमेत अस्तित्वमा नरहेको तथा खानेपानीको व्यवस्था बिथोलिएको अवस्थामा सुरक्षाकर्मीले टाढाबाट पानी बोकेर कैदीबन्दीलाई खुवाउने, बाटो खुलाउने र उच्च मनोबलका साथ ड्युटी गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री शाहका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ३ सय ९१ जनाको उद्धार गरिएको छ। स्थलमार्ग, हेलिकप्टर तथा कतिपय स्थानमा आफ्नै काँधमा बोकेरसमेत घाइतेलाई तत्काल अस्पताल पुर्‍याइएको छ। शव व्यवस्थापन, प्रभावित क्षेत्रमा महामारी तथा संक्रामक रोग फैलिन नदिन आवश्यक काम र शिविरमा रहेका प्रभावितलाई हौसला दिने कार्यमा समेत तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी निरन्तर खटिरहेका छन्।

विपद्का कारण सुरक्षाकर्मी स्वयंले समेत ठूलो क्षति व्यहोर्नुपरेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। उहाँका अनुसार बाढीका कारण नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १२ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। आफ्ना साथीहरू सम्पर्कविहीन रहेको पीडाका बीच पनि सुरक्षाकर्मीहरू आँसु लुकाएर दलदल र भग्नावशेषमा पस्दै खोज तथा उद्धारमा खटिरहेको उहाँले बताउनुभएको छ।

नेपाली सेनाले नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा फरवार्ड हेडक्वार्टर, इमर्जेन्सी मेडिकल रेस्क्यु टिम तथा मुख्य फरवार्ड एयर बेस स्थापना गरी उद्धार गरिरहेको छ। रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ट्याक्टिकल हेडक्वार्टर, चिकित्सकसहितको फरवार्ड मेडिकल टिम र अतिरिक्त एयर बेस सञ्चालनमा छन्। सेनाले कठिन भूगोलमा अन्य सुरक्षा निकायसँग समन्वय गर्दै खोज तथा उद्धारको नेतृत्व गर्नुका साथै विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा समेत उद्धार कार्य गरिरहेको छ। आवागमन सहज बनाउन बेलीब्रिज निर्माण र बाटो खोल्ने कामलाई तीव्रता दिइएको छ। नुवाकोटको देवीघाटमा नेपाली सेनाका इन्जिनियरले एक्रो ब्रिज जडान गरिरहेका छन्। प्रभावित क्षेत्रमा अहिले ९ हजार २ सय ८७ जना सेना परिचालित छन्।

नेपाल प्रहरीले सुरुदेखि नै अग्रपङ्क्तिमा रहेर खोज, उद्धार तथा राहत वितरणमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ। तालिमप्राप्त कुकुरको सहयोगमा खोज तथा उद्धार, घाइतेलाई अस्पताल पुर्‍याउने, शव व्यवस्थापन, जोखिमपूर्ण क्षेत्रबारे नागरिकलाई सूचना प्रवाह तथा शान्ति सुरक्षा कायम गर्ने काममा प्रहरी खटिएको छ। प्रभावित क्षेत्रमा हाल ७ हजार ९ सय ७५ जना प्रहरी परिचालित छन्।

सशस्त्र प्रहरी बल, नेपालले कठिन भूगोल र उर्लँदो भोटेकोशी–त्रिशूली नदीको जोखिम मोलेर विशेष तालिमप्राप्त गोताखोर, डोरी टोली, ड्रोन स्क्वाड तथा केनाइन टोलीमार्फत खोज तथा उद्धार गरिरहेको छ। प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट तथा १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको छ। उपचार सेवा प्रदान गर्नुका साथै नेपाल–चीन सीमा क्षेत्रमा नेपाली झण्डा स्थापना गर्ने कार्यसमेत गरिएको छ। प्रभावित क्षेत्रमा अहिले ४ हजार २ सय ३ जना सशस्त्र प्रहरी खटिएका छन्।

प्रधानमन्त्री शाहले संकटको समयमा सुरक्षाकर्मीहरूले गरेको त्याग र योगदानका कारण लाखौँ नागरिकले सुरक्षित महसुस गर्न पाएको बताउनुभएको छ। कार्यस्थलमा खटिने प्रत्येक सुरक्षाकर्मीको योगदानको उच्च कदर हुने भन्दै उहाँले सुरक्षाकर्मीहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, संकटका बेला आफ्ना परिवारका सदस्यलाई कर्तव्यमा खटिन प्रेरित गर्ने सुरक्षाकर्मीका परिवारप्रति समेत उहाँले कृतज्ञता व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा सुरक्षाकर्मीसँगै खटिएका स्वदेश तथा विदेशका विज्ञहरूप्रति पनि धन्यवाद व्यक्त गर्नुभएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीलाई सम्बोधन गर्दै उहाँले उनीहरूको त्याग, निष्ठा र अदम्य साहसप्रति सरकार सधैँ कृतज्ञ रहने बताउनुभएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर