बारा, २२ भदौ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरीस्थित दक्षिणकाली सडकखण्डमा गुडिरहेको विद्युतीय (ईभी) गाडीभित्र अचानक बेहोस भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०७७५ नम्बरको ईभी गाडीमा सवार बाराको सिम्रौनगढ नगरपालिका-११ का १९ वर्षीय प्रदीप पटेल सिस्नेरीको टेकर भन्ने स्थानमा पुगेपछि बिहान करिब ९:३० बजे अचानक बेहोस भएका थिए।
घटनालगत्तै सिस्नेरी प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई तत्काल नजिकैको स्वास्थ्य चौकी पुर्याएको थियो। प्रारम्भिक उपचारपछि होस आएर सामान्य बोल्न सक्ने भए पनि श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको थियो।
काठमाडौंको बल्खुस्थित बयोधा अस्पताल पुर्याएर परीक्षण गर्दा चिकित्सकले बिहान ११:०३ बजे उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।




