बारा, २३ भदौ । मलेसियाको बायोमास ओभलमा मंगलबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ ।
एसीसी प्रिमियर कपमा नेपालको यो पहिलो हार हो । जितका लागि हङकङले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर इशान पाण्डेले १०६ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ९० रनको उत्कृष्ट पारि खेलेका थिए । यस्तै आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्सनकुमार झाले २० रनको योगदान दिए । इशान र दीपेन्द्रबीच पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी भएको थियो ।
हङकङका बलर अइजाज खानले ४ विकेट लिए भने कप्तान यासिम मुर्तजाले २ विकेट चट्काए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको मजबुत योगफल तयार पारेको थियो ।
नेपालले यसअघिका खेलमा बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गरेको थियो ।




