बारा,२४ भदौ । बाराको कलैयामा सम्पूर्ण बारा यातायात प्रालिले बुधबारदेखि म्याजिक तथा बस सडकमा रोकेर विरोध जनाएका छन्। अटो रिक्सा सञ्चालनमा नियम–कानुन प्रभावकारी रूपमा लागू नभएको भन्दै व्यवसायीले आफ्ना माग पूरा नभएसम्म सवारीसाधन सञ्चालन नगर्ने चेतावनी दिएका छन्।
सम्पूर्ण बारा यातायात प्रालिका सचिव राजन जयसवालका अनुसार कलैयादेखि वीरगन्जसम्म अटो सञ्चालन भइरहे पनि तिनको कागजपत्र तथा कानुनी मापदण्डको प्रभावकारी जाँच नभएको आरोप छ। उनले आफूहरूको सवारीसाधनको नियमित कागजपत्र जाँच हुने तर अटोको हकमा भने त्यस्तो व्यवस्था प्रभावकारी रूपमा लागू नभएको बताए।
जयसवालले बारामा सञ्चालनमा रहेका करिब ७५ प्रतिशत अटोमा आवश्यक कागजपत्र, चालक अनुमतिपत्र, ब्लुबुक र रुट परमिट नरहेको दाबी गरे। उनका अनुसार वीरगन्जदेखि सिम्रौनगढसम्म अटो सञ्चालन भइरहेको भए पनि म्याजिक तथा बसका लागि लागू हुने नियम अटोमा समान रूपमा कार्यान्वयन भएको छैन। अटोले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको भन्दै उनले यसले यात्रुको सुरक्षा जोखिममा पारेको समेत बताए।
व्यवसायीहरूले आफूहरूले मन्त्रालय तथा अदालतका पत्रसहित कलैया उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बारा र जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढमा जानकारी गराए पनि मागअनुसार कानुन कार्यान्वयन नभएको बताएका छन्।
उनीहरूले अटो सञ्चालनमा आवश्यक कानुनी मापदण्ड तत्काल लागू गर्न माग गरेका छन्। माग सम्बोधन नभएसम्म म्याजिक र बस सञ्चालन नगर्ने उनीहरूको चेतावनी छ।
विरोध कार्यक्रममा सम्पूर्ण बारा यातायात प्रालिका अध्यक्ष दिपेन्द्र साहसहित म्याजिक तथा बसका चालकहरूको सहभागिता रहेको थियो।




