बारा, २४ भदौं। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित वडा कार्यालय नजिकै पूर्व–पश्चिम राजमार्गबाट ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन्।
पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकी जाँच गरिएको थियो। सो क्रममा बसको माथिल्लो सामान राख्ने स्थानमा रहेका दुईवटा झोला फेला परेपछि प्रहरीले ती झोलाको जाँच गरेको थियो।
जाँच गर्दा झोलाभित्र लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइडका १८ हजार ३०० थान क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।
उक्त लागूऔषधसहित पर्साको वीरगन्ज महानगरपालिका–१६ निवासी अन्दाजी १९ वर्षीय आनन्द चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका चौरसियामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




