बारा, २७ भदौ । वीरगञ्जमा स्रोत नखुलेको चार लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारतको मोतीहारी पलानवा थाना–१० निवासी ५५ वर्षीय अशोक कुमारलाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
उनी सवार मोटरसाइकलको डिक्कीमा लुकाइराखिएको अवस्थामा रु ५०० दरका ८९१ थान, रु २०० दरका नोट र रु १०० दरका ४३ थान भारतीय नोट बरामद गरिएको प्रहरीले जनाएको छ।
रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ परेका निजलाई हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।





