बारा, ३० भदौ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरास्थित हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल सडकखण्डमा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्।
काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र. ०३–००१ ज ०७२० नम्बरको भाडाको गाडी दिउँसो करिब २ बजे अनियन्त्रित भई सडकबाट करिब एक हजार मिटर तल खसेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार चालकसहित आठ जना सवार उक्त गाडी दुर्घटनामा परेर ज्यान गुमाउने चारै जना पुरुष रहेका छन् र उनीहरूको सनाखत गर्ने कार्य भइरहेको छ।
दुर्घटनामा परेर दुई महिला र दुई पुरुष गरी चार जना गम्भीर घाइते भएका छन्। दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाका टोलीहरू संयुक्त रूपमा उद्धारमा खटिएका थिए। उद्धारपश्चात् घाइतेमध्ये दुई पुरुष र एक महिलालाई थप उपचारका लागि काठमाडौं तथा एक महिलालाई हेटौंडा अस्पताल पठाइएको छ।
दुर्घटनाको थप विवरण आउन बाकी रहेको छ ।





