बारा, ३१ भदौ । सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्दै सुत्केरी बिदाको अवधि उल्लेख्य रूपमा बढाउने तयारी गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार तयार पारिएको संशोधन विधेयकमा हाल आमाले पाउँदै आएको ९० दिनको सुत्केरी बिदालाई बढाएर ६ महिना (१८० दिन) र बुबाले पाउने १५ दिनको प्रसूति स्याहार बिदालाई बढाएर ४२ दिन पुर्याउने प्रस्ताव गरिएको छ। मन्त्रालयले यो विधेयकलाई अब मन्त्रिपरिषद् हुँदै संसद्मा लैजाने तयारी गरिरहेको छ।
बदलिँदो जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको अवस्थालाई ध्यानमा राख्दै यो नीतिगत परिवर्तन गर्न लागिएको मन्त्रालयले जनाएको छ।
जीवनमा एक वा दुई पटक मात्र आउने मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारको हेरचाहका लागि पर्याप्त समय दिनु राज्यको दायित्व भएको मन्त्री गौतमको भनाइ छ।
बच्चा जन्माउने प्रक्रिया आमासँग जोडिएको भए पनि उसको लालनपालन र हुर्काइ आमाको मात्र नभएर दम्पतीको साझा जिम्मेवारी भएकाले दुवै अभिभावकका लागि तलबसहितको बिदा अवधि थप गर्ने प्रस्ताव गरिएको हो।





