बारा, ३१ भदौ । यातायात व्यवस्था विभागले निश्चित सीमा र सर्त तोकेर आगामी असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक यात्रुवाहक सवारीसाधनको नयाँ दर्ता खुला गरेको छ।
विभागले भदौ ३० गते देशका सातै वटै प्रदेशका पूर्वाधार मन्त्रालयहरूलाई पत्राचार गर्दै काठमाडौँ उपत्यका बाहिरको रुट तथा सवारीसाधन व्यवस्थापनका लागि दर्ता सुरु गर्ने निर्णय गरेको हो।
यस प्रक्रियामा खासगरी विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिइने विभागले जनाएको छ। विभागका निर्देशक मणिराम भुसालका अनुसार काठमाडौँ उपत्यकाभित्र भने स्कुल बस र सट्टाभर्ना को हकमा मात्र दर्ता खुला गरिएको छ।
यसअघि विभागले सार्वजनिक सवारीसाधनको आयात तथा दर्तामा रोक लगाएकोमा गत साउन १८ गते मालवाहक सवारीसाधनको दर्ता खुला गरिसकेको थियो।





