बारा, ०१ असोज । पर्साको वीरगञ्ज महानगरपालिका-१५ स्थित वास्तुबिहार चोकमा बेवारिसे अवस्थामा भेटिएको एक भारतीय कारबाट सशस्त्र प्रहरीले चार थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार यूपी १६ एजे ३३०१ नम्बरको भारतीय कारमा लुकाएर राखिएको अवस्थामा उक्त हतियार फेला पारेको हो।
कारको खानतलासी गर्दा टोलीले २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र ७.६२ एमएमका ६ थान गोली बरामद गरेको जनाएको छ।
बरामद गरिएका हतियार, गोली तथा कारलाई आवश्यक थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।






