बारा, ०२ असोज । हेटौँडाबाट काठमाडौँ जोड्ने प्रमुख सडक खण्डका रूपमा रहेका त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।
पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि मकवानपुर जिल्ला प्रशासन कार्यालयले गत भदौ १६ गतेदेखि काठमाडौँ जाने ठूला तथा मालवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ र फर्कँदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी एकतर्फी आवागमनको व्यवस्था मिलाएको थियो।
हाल कृष्णभीर खण्डको सडक पन्छाएर यातायात सुचारु भएपछि प्रशासनले उक्त एकतर्फी नियम हटाइ दुवै राजमार्गमा दुईतर्फी नै सवारी साधन सञ्चालन गर्न खुला गरेको मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभएको छ।
यससँगै हेटौँडालाई पालुङ-नौबिसे हुँदै काठमाडौँ जोड्ने त्रिभुवन राजपथ र टीकाभैरव-ललितपुर हुँदै उपत्यका प्रवेश गराउने कान्ति राजमार्ग भएर यात्रा गर्ने चालक तथा यात्रुहरूलाई आवागमनमा ठूलो राहत पुगेको छ। FilePic






