कलैया, १५ साउन। नेपालमा पहिलोपटक महिला टी-२० विश्वकपको छनोट प्रतियोगिता हुने भएको छ। सन् २०२६ मा आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने पक्का भएको छ ।
यो प्रतियोगिता सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जनाएको छ। नेपालमा हुने छनोट प्रतियोगितामा १० टोलीहरूलाई दुई समूहमा पाँच-पाँच टोलीको रूपमा विभाजन गरिनेछ ।
त्यसपछि सुपर सिक्स चरण र फाइनल खेल हुनेछ । प्रतियोगिताको विस्तृत खेल तालिका आईसीसीले पछि सार्वजनिक गर्ने जनाएको छ ।
बंगलादेश र आयरल्यान्डले २०२४ को आईसीसी महिला टी-२० विश्वकपमा सहभागिता जनाएका आधारमा छनोटमा स्वतः स्थान सुरक्षित गरेको छ । त्यस्तै नेपाल र थाइल्यान्ड एसिया क्षेत्रीय मार्गबाट छनोट भएको छ भने अमेरिकाले अमेरिका क्षेत्रबाट आफ्नो स्थान सुरक्षित गरेको छ ।